काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै पदाधिकारी र केन्द्रीय कमिटीको संख्या पुरानै कायम गर्ने निर्णय गरेको छ । यससँगै पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने भएको छ।
विधान महाधिवेशनले पदाधिकारी १५ जना बनाउने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो । तर, आज बसेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउनुपर्ने दबाब रहेको भन्दै नयाँ संरचनाको प्रस्ताव राखेपछि सोही अनुसार निर्णय गरिएको हो ।
नयाँ संरचनाअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन् । वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णयलाई निरन्तरता दिइएको छ । साथै, ३०१ सदस्यीय केन्द्रीय कमिटीमध्ये एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी गठन गरिनेछ । यस संरचनामा जेन–जी पुस्ताको पनि प्रतिनिधित्व गराइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यसअघि पनि एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय नै थियो । तर, गत भदौमा सम्पन्न विधान महाधिवेशनले त्यसलाई घटाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । महाधिवेशनमा ठूलो मिहिनेत र खर्च गरेर टुंगो लगाइसकेको विषयलाई पुनः संशोधन गर्न खोजिएको भन्दै पार्टीभित्र केही असन्तुष्टि पनि देखिएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले संख्या बढाउन नभई पार्टीलाई रूपान्तरण गर्न सन्देश दिएको बताउँदै विधान महाधिवेशनको निर्णयलाई यथावत राख्नुपर्ने बताएका थिए ।

























