काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा प्रहरी सधैं निशानामा पर्ने गरेको बताएका छन् । उनले आवश्यकता पर्दा प्रयोग गर्ने र नपर्दा दोष थोपर्ने प्रवृत्ति देखिँदै आएको भन्दै प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरिएको गुनासो व्यक्त गरे ।
जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले विगतका आन्दोलनहरू जस्तै यस वर्ष पनि प्रहरी संरचनाहरू ध्वस्त पारिएको उल्लेख गरे । उनका अनुसार राजनीतिक तथा अन्य विभिन्न आन्दोलनहरूमा बारम्बार प्रहरीलाई मात्र तारो बनाइने प्रवृत्ति दोहोरिँदै आएको छ ।
‘नेपालको इतिहासमा भएका थुप्रै राजनीतिक तथा अन्य आन्दोलनहरूमा प्रहरी नै तारो बनाइएको छ,’ उनले भने, ‘यसपटक पनि मुलभूत रूपमा नेपाल प्रहरीका धेरै संरचनाहरू जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका छन् ।’
यस्ता अवस्थालाई अन्त्य गर्दै शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीबीचको साझेदारी अपरिहार्य रहेकोमा उनले जोड दिए । नागरिक–प्रहरी सहकार्य नै देशभर शान्ति सुरक्षाको आधार भएको उल्लेख गर्दै उनले सबै दर्जाका प्रहरी कर्मचारीलाई नागरिकसँग नजिकिएर काम गर्न निर्देशनसमेत दिएका छन् ।

























