काठमाडौं । जेन–जी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने मागसहित अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ। आइतबार बिहान अर्थ मन्त्रालयमा युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।
ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनको उल्लङ्घन गर्दै तत्कालीन सरकारले स्वार्थ समूहको डिजाइनअनुसार डा. पौडेललाई गभर्नर नियुक्त गरेको आरोप लगाइएको छ। साथै, सरकारले गठन गरेको सिफारिस समितिले आफ्नो अधिकार दुरुपयोग गरी उनलाई सिफारिस गरेको दाबी गर्दै ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरिएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ को उपदफा २ को (क), (ख) र (ग) तथा उपदफा ३ अनुसार आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन वा वाणिज्य कानुन क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिहरू वा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ। तर, उक्त प्रावधान विपरीत डा. पौडेललाई सिफारिस गरिएको ज्ञापनपत्रमा उल्लेख छ।
संयोजक परियारका अनुसार डा. पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक तथा कृषिमा स्नातकोत्तर अध्ययन गरेकाले शैक्षिक योग्यता र अनुभवका आधारमा समेत उनको नियुक्ति राष्ट्र बैंक ऐनसँग मेल नखाने दाबी गरिएको छ।
यसका साथै, ज्ञापनपत्रमा अर्थ मन्त्रालयमा हुने विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको मनपरी नियन्त्रण गर्नुपर्ने, अनाधिकृत रूपमा असुल गरिएको ब्याज ऋणीलाई फिर्ता गराउनुपर्ने, गभर्नरलाई बर्खास्त गर्नुपर्ने, राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धिकरण विभागलाई प्रभावकारी र जिम्मेवार बनाउनुपर्ने तथा वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्ने लगायतका मागहरू समेटिएका छन्।



























