पोखरा । निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । माघ २०७७ मा २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म भौतिक प्रगति ५१ प्रतिशत मात्र रहेको छ। तेस्रो पटक थपिएको म्याद पनि गत साउनमै सकिएको छ ।
सहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराले १० करोड ५५ लाख रुपैयाँ (कर बाहेक) लागतमा उक्त भवन निर्माण गरिरहेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार निर्माण स्थलको अनुगमन गर्दै कामको प्रगतिबारे जानकारी लिएका छन् । उनले महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति र निर्माण व्यवसायीसँग छलफल गरी निर्माण सम्पन्न हुने समयतालिकाबारे चासो व्यक्त गरे ।
जनताको प्रत्यक्ष स्वास्थ्य सेवासँग जोडिएको संवेदनशील संरचनाको निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मन्त्री घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने स्पष्ट पारे । उनले तत्काल काम सुरु नगरे ठेक्का तोडेर निर्माण व्यवसायीमाथि कारबाही गर्ने चेतावनी दिए । एक हप्ताभित्र निर्माणले गति नलिए ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन उनले सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् ।
यसैबीच, प्रतिष्ठानका उपकुलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै तत्काल निर्माण अघि बढाउनुपर्ने बताए। निर्माण सम्भव नभए ठेक्का तोडी नयाँ प्रक्रियामा जानुपर्ने उनको भनाइ छ ।
























