काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धले समाज परिवर्तन हुन नसक्ने बताएका छन्। एमालेको ११औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको मन जितेरमात्रै समाज बदल्न सकिने बताए।
‘हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौं, जनताको मन जितेर शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ भन्छौँ । हामीमाथि प्रहार हुन्छ । हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्छौँ । हामीमाथि प्रहार हुन्छ ।
हामी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ । हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौँ । सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्प जस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ । कमजोरीलाई पनि महसुस गर्छौँ । मुलुक बन्छ र बन्दैछ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरुलाई यो मन पर्दैन । अनि फेरि हामीमाथि प्रहार हुन्छ,’ उनले भने।
यही कारण बारम्बार आफ्नो पार्टी प्रहारको निशानामा परेको उनको भनाइ छ। ‘यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैँ ठिङ्ग कसरी उभिरहन्छ? यति धेरै शक्ति कहाँबाट आउँछ? यस प्रश्नको उत्तर म यही मैदानमै खोज्न चाहन्छु,’ उनले भने।

























