काठमाडौं । नेकपा एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरूलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।
महाधिवेशन प्रतिनिधिमा अखिलेका निवर्तमान सुजन कडरियादेखि राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिम्सिनासम्म मनोनित भएका छन्।
एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिए। उनका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए।
वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ । जुन सचिवालय बैठकले चयन गरेको हो। योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी कुल सहभागी संख्या २५७१ हुनेछ।






























