काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। चौथोपटक हुँदै गरेको यस विस्तारमार्फत चार नयाँ मन्त्री नियुक्त गरिँदैछन्।
शीतल निवासका स्रोतअनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम मन्त्री बन्न लागेका छन्। उनीहरूलाई क्रमशः महिला तथा बालबालिका, वन, श्रम र भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे हुने जनाइएको छ।
यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो। पछिल्लो पटक ९ कात्तिकमा गरिएको तेस्रो पुनर्गठनपछि डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्री बनेका थिए।
चौथो विस्तारपछि मन्त्रिपरिषद् १४ सदस्यीय बन्नेछ। यस्तै, भूमिमन्त्री अनिलकुमार सिन्हालाई मन्त्रालय परिवर्तन गरी पर्यटन मन्त्रालयको जिम्मेवारी हस्तान्तरण गरिने तयारी छ।




















