काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक लोकतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएको व्यक्ति आफू नै भएको दाबी गरेका छन् ।
बिहीबार राजधानीमा सम्पादकहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अतीतका पार्टी इतिहास र आन्तरिक चुनावका प्रसंगसमेत स्मरण गरेका छन्।
ओलीले भने, “पार्टीमा हराइन्छ, हारिन्छ। आठौँ महाधिवेशनमा हारेँ, तर कुनै गुनासो गरिनँ। नवौँमा लडेर जितेँ। पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन मैले नै निरन्तर वकालत गर्दै आएको हुँ।”
उनले अन्य दलहरूमा पनि लोकतान्त्रिक अभ्यासका लागि आवश्यक दबाब दिँदै आएको दाबी गरे।
अध्यक्ष ओलीले आगामी महाधिवेशनमा आफूविरुद्ध उमेदवारी नआओस् भन्ने अपेक्षा अझै कायम रहेको बताए।
“परिस्थिति खासै त्यतातिर गएको देख्दिनँ,” उनले भने, “तैपनि आशा छ—म विरुद्ध कोही नउठ्ला र म निर्विरोध चयन होऊँ। त्यो आशा अहिले पनि छ।”
उनका अनुसार महाधिवेशनसम्बन्धी अन्तिम निर्णय भोलिको बैठकबाट टुंगिने छ। उनले अघि बढ्ने प्रस्ताव पनि सहमतिकै आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे।
























