काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी आन्दोलनका अगुवासँग हिजो गरेको सम्झौतामाथि कडा प्रहार गरेका छन्।
आज प्रमुख सम्पादकहरूसँगको अन्तरक्रियामा उनले उक्त सम्झौतोलाई “कलाविहीन नाटक” भन्दै यसको “हिजै पटाक्षेप” भएको टिप्पणी गरे।
सम्पादकहरूसँगको छलफलमा ओलीले भने, “यो सरकार कुनै पनि प्रकारको यस्तो सम्झौता गर्न सक्षम छैन। म्यान्डेट नै छैन। कसैले भोट हालेर चुनेको सरकार हो र? गोबर लगाएर टाँसेजस्तै बनाइएको सरकार हो।”
उनले जेनजी अगुवासँग गरिएको सहमतिपत्रलाई “रिहर्सलका आधारमा बनाइएको कमजोर कागज” दाबी गर्दै, त्यसमा संलग्न पक्षकै कारण अन्ततः अस्वीकार भएको बताए।
ओलीले वर्तमान सरकारलाई “नागपञ्चमीमा गोबर लगाएर टाँसिएको नागजस्तै” भएको अभिव्यक्ति दिए । उनले भने, “सरकारले फेद न टुप्पोको ताहुरमाहुर देखाइरहेको छ। यो सरकार को–कोले ल्याएर टाँसेको हो, खोजिरहेको छु।”
अन्तरक्रियामा ओलीले देशको राजनीतिक भविष्य फेरि पनि एमाले र नेपाली कांग्रेसकै नेतृत्वमा फर्किने दाबी गरे । उनका अनुसार अहिलेको अवस्था “एकछिनको सूर्यग्रहणजस्तै” मात्रै हो।
“एमाले र कांग्रेस देशका दुई प्रमुख, ऐतिहासिक र जनाधारयुक्त पार्टी हुन्,” ओलीले भने, “आँधी–तुफान चले पनि अन्ततः देश यिनैले चलाउने हो।”

























