काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेकी छन्। हालै जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको संरचनाको वास्तविक अवस्था बुझ्न उनी सोमवार संसद् भवन परिसर पुगेकी हुन्।
अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका भागमा पुगेको क्षति प्रत्यक्ष निरीक्षण गरिन्। उनले क्षतिग्रस्त संरचना तथा सामग्री नजिकैबाट समेत अवलोकन गरेकी थिइन्।
संसद् सचिवालयका उच्च अधिकारीहरूले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र त्यसपछिको मर्मत–सम्भारको प्रगतिबारे पूर्वराष्ट्रपतिलाई ब्रिफिङ गरे।
जेनजी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीप्रति देशभर आलोचना भएको थियो। सो घटनापछि संसद् भवनको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठेको थियो।
संसद् भवन अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले कुनै सार्वजनिक प्रतिक्रिया दिएको भने छैन। यसअघि उनले क्षतिग्रस्त सिंहदरबार पनि निरीक्षण गरेकी थिइन्।

























