काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टीको ११औँ महाधिवेशन अघि विभिन्न “षडयन्त्र” चलिरहेको दाबी गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हाल देखिएका घटनाक्रमहरू एमाले नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने योजनाको हिस्सा भएको आरोप लगाएका छन्।
बस्नेतले हिजोको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पत्रकारहरूले अध्यक्ष ओलीको आयोगमा हाजिर बारे प्रश्न सोध्न नभ्याएको उल्लेख गर्दै, “म भए जान्थे, उहाँ पनि जानैपर्छ,” भनेको प्रसंग पनि षडयन्त्रको महत्त्वपूर्ण संकेतको रूपमा जोडेका छन् ।
बस्नेतले दुई दिनअगाडि नै पूर्व राष्ट्रपति बिद्या भण्डारी र पूर्व प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको वार्तामा अध्यक्ष ओलीलाई गिरफ्तार गर्ने विषय उठेको दाबी गरेका छन् ।
बस्नेतले फेसबुकमा जेनजी समूहको नाममा गरिएको वार्ता तथा सम्झौता, हिमेश पन्तलगायतका व्यक्तिहरूले सामाजिक सञ्जालमा फैलाएको “गलत भ्रम”, “ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल सबै एकै उद्देश्यअनुसार सञ्चालन भएको दाबी गरेका छन्।
महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागी संख्या घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने जस्ता षडयन्त्र चिर्न एमाले सक्षम रहेको दावी गरेका छन् ।
बस्नेतले आफ्नो स्टाटसमा लेखेका छन्, “हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो, ‘तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो, किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएनरु म भए जान्थे, उहाँ पनि जानैपर्छ।’
यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ।
२ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री सुसीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ।
हिजै genz समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक, हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम, “केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन्।
उनीहरूको उद्देश्य हो-
महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।
तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ।
पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन।
तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ। अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ।

























