काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनमा पराजय भए पनि आफू र आफ्नो समूह एमालेमै रहने स्पष्ट गरेका छन्।
बुधबार आयोजित पत्रकार भेटघाटमा उनले भने, “हामी जित्छौँ भन्ने पूर्ण विश्वास छ। तर हारियो भने पनि माधव नेपालजस्तो वा भीम रावलजस्तो छुट्टै पार्टी खोल्ने सोच हामीसँग छैन। हामी सधैं एमालेकै पक्षमा रहन्छौँ।”
प्रतिकूल नतिजा स्वीकार गर्न नचाहने राजनीतिक संस्कार नै कमजोर भएको उल्लेख गर्दै पोखरेलले प्रतिस्पर्धाको परिणाम स्वीकार गर्ने परिपक्वता आवश्यक हुने बताए।
उनले थपे, “जित्दा मात्रै उत्साहित हुने होइन, हार्दा पनि स्वीकार गर्ने मानसिकता आवश्यक छ। प्रतिस्पर्धीहरूले नतिजा मान्नुपर्छ भन्नेमा हामी सचेत छौँ।”
‘प्यानल बनाउने, नबनाउने भन्ने कुरा होइन । यो उम्मेदवारी कुनै झ्वाँक झ्वाँकमा गरिएको विषय होइन । हामीले पार्टीको बैठकमा औपचारिक रुपले जानकारी पनि गराएको हो,’ पोखरेलले भने, ‘सार्वजनिक रुपमा पनि हो । हामी कुनै अस्वभाविक रुपमा प्रस्तुत भएको होइन । पार्टी अध्यक्षसँग मैले नै कुरा गरेर केन्द्रीय कार्यालयमा औपचारिक रुपमा दर्ता गरेको हो ।’
पोखरेलले आफ्नो असन्तुष्टि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई लक्षित नभई कार्यशैलीसँग सम्बन्धित रहेको पनि स्पष्ट पारे।

























