काठमाडौं । वैदेशिक रोजगारीका नाममा सेवाग्राहीलाई अनावश्यक झन्झट र दुविधा सिर्जना गर्दै बार्गेनिङ गर्ने १३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा ठगी ब्यहोरेका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा पुग्दा उनीहरूलाई घेराबन्दी गर्दै विभिन्न बहानामा मोलमोलाइ गर्ने गतिविधि बढेकाले कार्रवाई गरिएको प्रहरीको भनाइ छ ।
प्रवक्ता एसपी काजी कुमार आचार्यका अनुसार पक्राउ परेका बिचौलियाले विभागमा श्रम स्वीकृतिका लागि आएका सेवाग्राहीलाई हैरानी दिँदै आफूमार्फत काम गराउन बाध्य पार्ने गरेको पाइएको छ ।
आचार्यले भने, “यी व्यक्तिहरू पीडितलाई सहायता गर्छौं भनेर झुक्याएर पीडकविरुद्ध पुर्जी जारी गरिदिने नाममा बार्गेनिङ गर्थे।”
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको ती व्यक्तिहरूको नाम सुरक्षा कारणले गोप्य राखिएको प्रहरीले जनाएको छ।

























