काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भए पर्याप्त हुने भन्दै यसमा नीतिगत बहस जोड्नु सान्दर्भिक नहुने टिप्पणी गरेका छन्।
उनका अनुसार विगतमा नीति र नेतृत्व एउटै मञ्चबाट तय गर्दा नीतिसम्बन्धी बहस ओझेलमा पर्ने र नेतृत्वका पक्षधरहरूको प्रभाव बढ्ने भएकाले एमालेले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग–अलग आयोजना गर्ने व्यवस्था गरेको हो।
ज्ञवालीले भने, “विधान महाधिवेशनका बेला नेतृत्वको बहस गर्नु, र नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन। दुई महाधिवेशनबीच राष्ट्रिय राजनीतिको परिस्थिति बदलिएमा आवश्यक नीतिगत समायोजन गर्ने अधिकार महाधिवेशनले केन्द्रीय कमिटीलाई दिएकै हुन्छ। प्रत्येक घटनाबारे छलफल गर्न बारम्बार महाधिवेशन बोलाउनु व्यवहारिक पनि हुँदैन।”
सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक बनेको उल्लेख गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय भने केन्द्रीय कमिटी बैठकबाट गर्नुपरेको र त्यही उचित भएको बताए।
उनका अनुसार अहिले पार्टीभित्र आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरताका बीच गरिने समीक्षा वस्तुनिष्ठ हुन नसक्ने जोखिम छ, जसले आरोप–प्रत्यारोप र ‘ब्लेम गेम’लाई जन्म दिन सक्छ।
ज्ञवालीले थपे, “नेतृत्वमाथि गम्भीर चुनौती उभिएको बेला विधानअनुसार स्थापना गरिएको स्वयंसेवक संस्थाबारे समेत फरक–फरक स्वर सुनिन्छ। यस्तो अवस्थामा समग्र विषयको सम्यक मूल्यांकन सम्भव छैन। त्यसैले आसन्न महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गरौँ। सहमति खोजौँ, नसके स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिस्पर्धा गरौँ र पार्टी एकतालाई सुदृढ बनाऔँ।”
ज्ञवालीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी एनपीएलका खेलाडीले जस्तै ‘स्पोर्टसम्यानसिप’ अपनाएर महाधिवेशनमा सहभागी हुन सबैलाई आग्रह पनि गरेका छन्।
























