काठमाडौँ । हितेन्द्रदेव शाक्यले अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएको बताएका छन् । सर्वोच्च अदालतको परमादेश पछि आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमा पुनर्वहाली भएका शाक्यले सञ्चारकर्मीसँगको प्रतिक्रियामा अदालतबाट न्याय पाएको भन्दै खुसी व्यक्त गरेका हुन् ।
कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बने लगत्तै असोज ५ गते ऊर्जा आयोगमा सरुवा गरिएका शाक्यलाई सोमबार सर्वोच्चले पदमा पुन: बहाली गर्न परमादेश दिएको थियो ।
‘अहिले विद्युत् प्राधिकरणको एमडी भएकै कारणले जुन दुर्घटना मैले बेहोर्नुपर्यो। अरू कुनै कारणले थिएन। त्यसपछिका दुईर अढाई महिनाको दुःखद समयपछि अदालतबाट न्याय पाएर फर्किएर आएको छु। आफ्ना कार्यक्रमहरूमा पहिलाभन्दा पनि अझ बढी जोस र लगनशीलतासहित काम गर्नेछु’, शाक्यले भने, ‘नेपाल सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरी ठानेर अघि बढ्नेछु। पहिला केही कमजोरी भएका रहेछन् भने पनि त्यो हुन दिन छैन। अबको साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्नेछु। ऊर्जामन्त्रीज्यू र म दुवै एनईएका क्याडर हो। हामीले यो क्षेत्र एक एक हिसाबले बुझेका छौँ। चिलिमेदेखि अनुभवहरू भोगेर आएका छन्।’

























