ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसम्बन्धी ठेक्का व्यवस्थापनमा देखिने अव्यवस्थाले देशको अर्थतन्त्र र रोजगारीमा ठोस असर पारेको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजद्वारा ललितपुरमा आयोजित ‘रुग्ण ठेक्का व्यवस्थापन’ विषयक सरोकारवालासँगको संवाद कार्यक्रममा मन्त्री घिसिङले सरकारी ठेक्का लिएर कार्य निर्धारित समयमा सम्पन्न नगर्दा देश र जनताले नै ठूलो घाटा व्यहेर्नुपरेको उल्लेख गरे।
उनले भने, “ठेक्काअनुसार काम नहुँदा विकास निर्माण नै अवरुद्ध हुन्छ। नेपालका कानुनअनुसार कुनै पनि काम ठेक्का विना गर्न पाइँदैन। ठेक्का व्यवस्थापनमा कमजोरी हुँदा रोजगारी र राष्ट्रिय अर्थतन्त्र दुवै प्रभावित हुन्छन्।”
मन्त्री घिसिङका अनुसार ठेक्का सम्पन्न भएपश्चात् समयमा भुक्तानी रोकिने वा आवश्यक निर्णय नगर्ने सरकारी नियमनकर्ताहरूमा पनि कारबाही आवश्यक छ। उनले नेपालमा लगानी सम्मेलनभन्दा पहिला ठेकेदारहरूको सम्मेलन आवश्यक पर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे।
कार्यक्रमको प्रारम्भमा पूर्वाधारविज्ञ तथा पूर्वसचिव अर्जुनजङ्ग थापाले सरकारी ठेक्का तोड्ने नीतिको प्रभाव र त्यसबाट उत्पन्न समस्याबारे प्रस्तुतिकरण गरेका थिए।

























