काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनाव केन्द्रित मात्र नभई सुशासन सम्भव बनाउने उद्देश्यासहित गठन भएको बताएकी छन्। भ्रष्टाचारविरुद्ध आवश्यक परे कठोर कदम चाल्न सरकार तयार रहेको उनको भनाइ छ।
सिंहदरबारमा आयोजित २२औँ अन्तर्राष्ट्रिय भ्रष्टाचारविरोधी दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेन्जी आन्दोलनले उठाएका माग र जनअपेक्षा पूरा गर्न सरकार तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरिन्।
उनले भनिन्, “यो सरकार केवल चुनावी सरकार होइन, सुशासनको मागसहित भएको आन्दोलनको जगमा निर्मित सरकार हो। नियमित कार्यसँगै सुशासनका लक्ष्य पूरा गर्न राज्य संयन्त्र सक्रिय भइसकेका छन्।”
प्रधानमन्त्री कार्कीका अनुसार भ्रष्टाचारविरुद्धको लडाइँमा सरकारले कुनै पनि अवस्थाबाट पछि हट्ने छैन। “जेन्जीका मागअनुसारका उपलब्धि तत्कालै नआउला, तर भ्रष्टाचारविरुद्ध आवश्यक परे जुनसुकै कठोर कदम चाल्न हामी तयार छौँ,” उनले स्पष्ट पारिन्।
भ्रष्टाचारविरुद्ध कदम चालेका कारण विभिन्न तरिकाले धम्की आउने परिस्थितिबारे उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकार नडराइ अघि बढ्ने दृढता व्यक्त गरिन्। उनका अनुसार, “यस दिशामा उठाइएका कदमबाट असहज बनेका तत्वहरूले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिए पनि हामी विचलित हुँदैनौँ।”
कार्यक्रममा उनले सम्बन्धित निकायका पदाधिकारी तथा राष्ट्रसेवकलाई पनि दायित्व निर्वाहमा अडिग रहन र व्यावसायिक स्वतन्त्रताको साथ काम गर्न सुझाइन्।

























