काठमाडौँ । नेकपा (एमाले)ले आगामी ११औँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन विभिन्न १६ वटा राजनीतिक दलका शीर्ष नेताहरूलाइ निमन्त्रणा पठाएको छ। अतिथि सत्कार समितिको समन्वयमा महाधिवेशनका अतिथिहरू तय गरी औपचारिक निम्तो दिइएको हो।
समितिकी सदस्य सुनिता बरालका अनुसार महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका कार्यवाहक सभापति डिपी अर्याललाई पनि निम्तो पठाइएको छ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल तथा राष्ट्रिय जनमोर्चालाई समेत महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।
बरालका अनुसार जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई पनि निमन्त्रणा पठाइएको छ।
महाधिवेशन तयारीका लागि गठन गरिएका उपसमितिहरू — मञ्च व्यवस्थापन, अतिथि सत्कार, आवास, स्वयंसेवक तथा प्रचार समितिहरू — आ–आफ्नो जिम्मेवारीअनुसार आवश्यक तयारीमा जुटिरहेका छन्। प्रचार समितिले महाधिवेशनको विशेष लोगो र जिङ्गलसहितका गतिविधि अगाडि बढाइसकेको छ।
अतिथि सत्कार समितिले निम्तो पठाउने दल र व्यक्तिको सूची तयार पारेर त्यसअनुसार आमन्त्रण प्रक्रिया सम्पन्न गरेको बराल बताउँछिन्। उनका अनुसार, “नेपालका राष्ट्रिय दलहरू, विशेषतः कम्युनिस्ट विचारधारामा आधारित दलहरूलाई प्राथमिकताका साथ निम्तो दिइएको छ। यो प्रक्रिया निरन्तर छ।”
नेपालमा रहेका विदेशी नियोगहरूलाई पनि महाधिवेशनमा उपस्थितिको लागि अनुरोध गरिएको छ। विदेशमा रहेका तथा प्रत्यक्ष भेट्न नसकिएका व्यक्तिहरूलाई भने शुभकामना सन्देशमार्फत् निमन्त्रणा पठाइएको समितिले जनाएको छ।

























