काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि विवरण अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, सचिव माधव ढुंगेल र उनीहरूको टिम प्रतिनिधि सूची परिमार्जनमा निरन्तर व्यस्त छन्।
विभाग प्रमुख अधिकारीका अनुसार महाधिवेशनका लागि २ हजार १ सय ५४ जना प्रतिनिधि निर्वाचनमार्फत् आउनेछन् भने १ सय ८ जना केन्द्रबाट मनोनीत हुनेछन्। मनोनीतसहित प्रतिनिधिको कुल संख्या २ हजार २ सय ६२ हुनेछ।
तत्कालीन नेकपा (एस) बाट ‘घरफर्क अभियान’मा सहभागी भएकामध्ये तीन जनाले प्रतिनिधिमा समावेश गराउन निवेदन दिएका छन्, जससम्बन्धी निर्णय पार्टी सचिवालयले गर्नेछ। अधिकारीले धनकुटा र ओखलढुंगामा देखिएको प्रतिनिधि छनोटसम्बन्धी समस्या समाधान भइसकेको बताए। अन्तरपार्टी निर्देशन १३ अनुसार चयन प्रक्रिया नहुँदा ती जिल्लामा पुनः छनोट गराइएको र अहिले दुवैबाट सर्वसम्मत प्रतिनिधि आएको उनले जानकारी दिए। अन्य तीन जिल्लामा परेको उजुरी भने निराकरण भइरहेका छन्।
निर्वाचित प्रतिनिधिमध्ये केहीका हकमा मापदण्ड नपुगेको भन्दै परेको उजुरीका आधारमा छानबिन भइरहेको अधिकारीले बताए। मापदण्ड पूरा नगरेका कसैको पनि कार्ड नबनाउने तयारी गरिएको उनको भनाइ छ। “हामीले ७० प्रतिशतभन्दा बढी प्रतिनिधिको भेरिफिकेसन गरिसकेका छौँ,” उनले जोड दिए।
महाधिवेशनको बन्द सत्र हलमा प्रतिनिधि बाहेक ३ सय ५१ जना उपस्थिति रहनेछन्, जो सल्लाहकार परिषद्का सदस्य हुन्। परिषद्का ३ सय ७६ मध्ये २५ जना प्रतिनिधिका रूपमा निर्वाचित भएकाले बाँकी सदस्यलाई सहभागीको हैसियतमा प्रवेश दिने व्यवस्था मिलाइएको छ। यसरी प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा कुल २ हजार ६ सय १३ जनाको सहभागिता रहनेछ।
संगठन विभागका अनुसार परिचय पत्र छपाइको काम तीव्र रूपमा चलिरहेको छ। हालसम्म करिब ७० प्रतिशत कार्ड छापिइसकेको र बाँकी सबै कार्ड तथा प्रतिनिधि अद्यावधिक कार्य आगामी मंसिर २५ भित्र समाप्त गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जनाएको छ।

























