काठमाडौँ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः क्रियाशील बनाउँदै अझ गतिशील, समावेशी र परिणाममुखी बनाउन नयाँ प्रतिबद्धता आवश्यक रहेको बताएकी छन्।
सार्कको ४१औँ चार्टर दिवसका अवसरमा सदस्य राष्ट्रका सरकार तथा जनतामा शुभकामना दिँदै उनले साझा लक्ष्यका लागि एक भएर क्षेत्रीय चुनौतीहरूको सामना गर्न, सामूहिक हित जोगाउन र जनताको आकांक्षा पूरा गर्न सकिने उल्लेख गरिन्।
उनले झन्डै चार दशकअघि संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिमा आधारित एकीकृत दक्षिण एसियाको कल्पना गरेको स्मरण गर्दै त्यही दूरदृष्टिले सार्कको जन्म भएको बताइन्। क्षेत्रीय सहकार्य प्रवर्द्धन, आपसी सम्बन्ध मजबुत बनाउन र नागरिकको कल्याण वृद्धि गर्नु नै सार्कको मूल उद्देश्य भएको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीका अनुसार, विगतका वर्षहरूमा सार्कले आपसी समझदारी र विश्वास बढाउने तथा क्षेत्रभर जीवनस्तर उकास्ने उद्देश्यका महत्वपूर्ण पहल अघि बढाउन प्रभावकारी भूमिकामा काम गरेको छ। खाद्य तथा ऊर्जा सुरक्षादेखि जलवायु परिवर्तन, डिजिटल असमानता र गरिबी न्यूनीकरणसम्मका जटिल चुनौतीहरू सामूहिक आत्मनिर्भरता र क्षेत्रीय पहिचानका माध्यमबाट सम्बोधन गर्न सार्क चार्टरले निरन्तर मार्गनिर्देशन गरेको उनको टिप्पणी छ।
सार्कका वर्तमान अध्यक्षका रूपमा नेपालले चार्टरका सिद्धान्तअनुसार सबै सदस्य राष्ट्रसँग मित्रता, एकता र सहमतिको आधारमा घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएको उनले बताइन्। संयुक्त प्रयासको माध्यमबाट साझा विकास लक्ष्यहरूमा छिटो प्रगति गर्न सकिने र दक्षिण एसियामा बसोबास गर्ने विश्वको एक चौथाइ जनताले प्रत्यक्ष लाभ पाउने उनको भनाइ छ। उनले सार्क चार्टर दिवसले सबैमा नयाँ उत्साह, दृढ सहकार्य र क्षेत्रीय एकताको भावना पुनः जागृत गराओस् भन्ने शुभकामना पनि व्यक्त गरिन्।
सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ मा बङ्गलादेशको ढाकामा चार्टरमा हस्ताक्षरसँगै भएको हो। अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ राष्ट्र सार्कका सदस्य हुन्। यसको सचिवालय १९८७ जनवरी १७ मा काठमाडौँमा स्थापना गरिएको हो।
सार्कअन्तर्गत राष्ट्रप्रमुख वा सरकार प्रमुखसमेत सहभागी हुने शिखर बैठक सबैभन्दा उच्च निर्णय–निर्माण तह हो। यस्ता शिखर सम्मेलन सामान्यतया दुई वर्षको अन्तरालमा वर्णानुक्रमअनुसार सदस्य राष्ट्रले आयोजना गर्छन्। सम्मेलन आयोजना गर्ने देशले त्यस अवधिमा संगठनको अध्यक्षता सम्हाल्छ। हालसम्म १८ शिखर सम्मेलन सम्पन्न भइसकेका छन्। १८औँ शिखर सम्मेलन २०१४ नोभेम्बर २६–२७ मा काठमाडौँमा सम्पन्न भएको थियो। त्यसयता अर्को शिखर बैठक हुन सकेको छैन।
सार्क चार्टरअनुसार संगठनका सबै तहका निर्णय सर्वसम्मतिमा आधारित हुन्छन्, र द्विपक्षीय वा विवादास्पद मुद्दाहरूलाई सार्कका बैठकहरूको एजेन्डाबाट बाहिर राखिने व्यवस्था छ।
























