काठमाडौं । नेकपा एमाले धनकुटामा देखिएको महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवाद अन्ततः समाधान भएको छ। विवाद टुंगिएसँगै धनकुटाबाट १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका छन्।
पहिले एकतर्फी रूपमा चुनाव गराइएको भन्दै असन्तुष्ट समूहले उजुरी दिएका थिए। उनीहरूले केही बुथमा तोडफोड र मतपत्र च्यातेर निर्वाचन बहिष्कार समेत गरेका थिए। धनकुटामा राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच प्रतिस्पर्धा चलिरहेको थियो।
विवाद समाधानका लागि एमाले संगठन विभागले प्रतिनिधि पुनः छनौट गर्न निर्देशन दिँदै कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राई तथा केन्द्रीय सदस्य राजेन्द्र राईलाई जिम्मा दिएको थियो। दुवै नेताको समन्वय र पहलपछि सर्वसम्मत रूपमा १३ प्रतिनिधि चयन भएको असन्तुष्ट पक्षका नेता इन्द्रमणि पराजुलीले जानकारी दिए।
खुला तर्फबाट निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल र खगेन्द्र राई सर्वसम्मत रूपमा प्रतिनिधि बनेका छन्। त्यस्तै युवा तर्फबाट सरोज राई, दलित तर्फबाट नैन रुचाल, महिलातर्फ तुलसी राई, सम्झना आले मगर, निर्मला इभाङ लिम्बू र गोमा कार्की चयन भएका छन्। साथै जिल्लाका दुई जना वरिष्ठ नेतालाई मनोनीत गर्ने सहमति पनि बनेको छ।
यसअघि प्रतिनिधि रहेका शान्तिराम गौतम र अर्जुन छाराहाङको स्थानमा यसपटक निरेन तामाङ र मनोज राई समावेश गरिएको बताइएको छ।

























