काठमाडौं । नेकपा एमाले ओखलढुंगामा उत्पन्न महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद समाधान भएको छ । कोशी प्रदेश इन्चार्ज शेरधन राई तथा संगठन विभाग सदस्य विशाल भट्टराईको पहलमा सर्वसम्मत ढंगले १२ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।
यसअघि एकतर्फी घोषणा गरिएको प्रतिनिधि चयन प्रक्रियालाई केन्द्रीय संगठन विभागले बदर गर्दै पाँच दिनभित्र पालिका तहमा निर्वाचन गराउने वा सहमति कायम गर्ने जिम्मा राई, भट्टराई, जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारी सम्मिलित कार्यदललाई दिएको थियो ।
कार्यदलले लगातार छलफलपछि मंसिर १३ गतेको प्रतिनिधि चयन प्रक्रिया बहिष्कार गर्ने पक्षलाई समेत समेटेर विवाद मिलाएको हो । पछि चयन भएका प्रतिनिधिहरुमा पूर्व जिल्ला कमिटी अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, संविधानसभा सदस्य हर्कबहादुर (हर्कबोल) राई र सकुन्तला राजभण्डारी परेका छन् ।
यसअघि नै घोषणा गरिएका अन्य प्रतिनिधिमा जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे रहेका छन्।
आइतबार दिनभर काठमाडौंमा भएको छलफलपछि सहमति जुटेको हो । उपसचिव अस्मिता थापाबाहेक सबै पदाधिकारी एकै प्यानलमा भएकाले निर्वाचन समिति गठनदेखि नै विवाद उत्पन्न भएको थियो ।
ओखलढुंगाको विवाद समाधान भई सर्वसम्मत रूपमा तय भएका महाधिवेशन प्रतिनिधिहरूको सूची इन्चार्ज शेरधन राईमार्फत संगठन विभागमा पठाइएको संगठन विभागका सहजकर्ता विशाल भट्टराईले जानकारी दिएका छन् ।

























