काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी जेन-जी पुस्ताको वास्तविक नेतृत्वकर्ता रहेको दाबी गरेका छन्। प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले कहिल्यै पनि जेन-जीको जायज माग र आकांक्षाविरुद्ध नगएको र नजाने स्पष्ट बताएका हुन् ।
उनका अनुसार एमालेले सबै उमेर समूहको प्रतिनिधित्व गर्छ र विशेषतः जेन-जी पुस्ताले अघि सारेका मागप्रति पार्टीको दृष्टिकोण सकारात्मक रहँदै आएको छ। सोसल मिडियाको निर्वाध प्रयोग गर्न पाउनुपर्ने जेन-जीको माग पूर्णतः जायज रहेको उल्लेख गर्दै उनले भने, ‘जेन-जी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु। उनीहरूको न्यायिक र वैध आकांक्षाविरुद्ध एमाले थिएन, रहने पनि छैन।’
भदौ २३ र २४ को घटनाहरूको प्रसंग उठाउँदै उनले जेन-जीले सोसल मिडिया कसरी नियमन गर्ने भन्ने होइन, त्यसलाई स्वच्छ रूपमा प्रयोग गर्न पाउनुपर्ने माग मात्रै अघि सारेको बताए। साथै, उनले सरकारले आगामी निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणी पनि गरे।
मधेशमा एमाले ‘एक्लो’ छैन
उपाध्यक्ष पौडेलले आफ्नो पार्टी मधेशमा एक्लो नभएको र त्यहाँ अझै पनि एमाले नै सबैभन्दा शक्तिशाली राजनीतिक शक्ति रहेको दाबी गरे। प्रेस चौतारी नेपालले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जनताले स्वीकार गरिरहेका बेला कसैले एमालेलाई एक्ल्याएर के नै हुन्छ ? मधेश प्रदेशमा आज पनि एमाले नै सबभन्दा बलियो पार्टी हो।’
उनका अनुसार पार्टी जनतासँग जोडिएर अघि बढेको छ र जनताले विश्वास गरिरहँदासम्म एमाले एक्लिने वा अलग्गिने स्थिति कुनै हालतमा आउने छैन ।
‘हामी जनताबाट टाढिने पक्षमा छैनौँ। मधेशमा हामी न एक्लिएका छौँ, न एक्लिनेछौँ,’ पौडेलले स्पष्ट पारे।

























