काठमाडौँ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियामा आवश्यक निर्देशन मातहतका सबै संरचनालाई पठाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश, जिल्ला र क्षेत्रीय सभापतिहरूलाई सम्बोधन गर्दै यो परिपत्र जारी गरेका हुन्।
परिपत्रमा निर्वाचन आयोगले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका सबै कार्यक्रम सार्वजनिक गरिसकेकाले पार्टी विधानअनुसार तोकिएको समयभित्र सम्बन्धित निकायले उम्मेदवारको नाम माथिल्लो संरचनामा अनिवार्य रूपमा सिफारिस गर्नुपर्ने उल्लेख छ। प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते निर्धारित छ।
राष्ट्रिय सभा सदस्य सिफारिस प्रक्रियामा प्रत्येक प्रदेश कार्यसमितिले संविधानको धारा ८६(२)(क) अनुसार जिल्लाबाट योग्यता पुगेका सम्भावित उम्मेदवारको नाम संकलन गर्नेछ। प्राप्त नाममध्येबाट प्रत्येक सिटका लागि तीन जनाको सूची तयार गरिनेछ—सहमति भए सहमतिअनुसार, नभए बहुमतका आधारमा।
यही व्यवस्थाअनुसार हरेक प्रदेशबाट राष्ट्रिय सभाका प्रत्येक सिटका लागि ३/३ जनाका नाम ०८२ मंसिर मसान्तभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन गरिएको छ।
यस्ता छन् १० शर्त तथा योग्यता
१) नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्ने।
२) जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन्।
३) २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन्।
४) प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न पाइने छैन।
५) तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइनेछैन।
६) प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पद मध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिश गर्नु पर्नेछ।
७) प्रतिनिधि सभा सदस्य पदको उम्मेवारको लागि तेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेस गर्नु पर्नेछ।
८) प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणपत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ।
९) २०७९ मा सम्पन्त स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइनेछैन।
१०) पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ। सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।
























