काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशन उद्घाटन सभामा सबैलाई सहभागी हुन आह्वान गरेका छन्। मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा वन तथा वातावरण विभागद्वारा आयोजित कार्यक्रममा उनले सो आग्रह गरेका हुन्।
महाधिवेशनको उद्घाटन सभा मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने तय भएको छ। पोखरेलका अनुसार एमालेले उक्त सभालाई प्रतिगमनविरुद्धको संघर्षको उत्कर्ष तथा उत्सवको रूपमा प्रस्तुत गर्न चाहेको छ।
उनले यो महासभामार्फत एमालेसँग जनसमर्थन बलियो रहेको सन्देश देशव्यापी रूपमा दिन चाहेको उल्लेख गर्दै जनता, लोकतन्त्रप्रेमी तथा राष्ट्रभक्त सबै जनताको उत्साहजनक उपस्थितिमा विश्वास व्यक्त गरे।
समारोहबारे उनले भने, “एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई नेपालकै इतिहासमा सर्वाधिक जनसमूह जुट्ने कार्यक्रम बनाउने लक्ष्य छ। प्रमुख दलसँग जनताको साथ छ कि छैन भन्ने कुरा यही सभाले देखाउने छ। यो प्रतिगमनविरुद्धको संघर्षको उत्कर्ष र पार्टी जीवनको एउटा महत्त्वपूर्ण उत्सव हुनेछ।”
महासचिव पोखरेलले एमाले मुलुकलाई लोकतान्त्रिक मार्गमा स्थिरता दिन नेतृत्वदायी भूमिका निभाइरहेको पनि दाबी गरे।
























