धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दी र लुटिएका हतियारका कारण आगामी निर्वाचन प्रभावित हुन नदिने स्पष्ट पारेका छन् ।
गृह मन्त्रालयद्वारा मंगलबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फरार कैदीबन्दी पक्राउ र लुटिएका हतियार बरामद गर्ने काम तीव्रगतिमा भइरहेको जानकारी दिए। मन्त्री अर्यालका अनुसार निर्वाचनअघि आवश्यक सबै नियन्त्रणमा लिइसक्ने सरकारको दृढ योजना छ।
फरार कैदीबन्दी र हतियारको विषय बारम्बार उठाइने गरे पनि यसलाई अनावश्यक रूपमा बढाइचढाइ प्रस्तुत गर्न नहुने उनको भनाइ थियो।
उनले भने, “फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने काम पछिल्ला दिनमा बढ्दो क्रममा छ। यी कारणले चुनाव बिथोलिन दिन्नौं। जसरी भए पनि फिर्ता ल्याएरै छाड्छौं भन्ने प्रतिबद्धता व्यक्त गर्छु।”
४ हजार ५५२ फरार: कति खतरनाक ?
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी अझै फिर्ता हुन बाँकी रहेको उनले बताए। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगजस्ता गम्भीर अपराधमा संलग्न फरारहरूको संख्या भने अपेक्षाकृत कम भएको उनको दाबी छ। ती सबैलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको उल्लेख गरे।
लुटिएका हतियारमध्ये ७२७ थान फिर्ता
लुटिएका हतियारमध्ये ७२७ थान बरामद भइसकेको उल्लेख गर्दै उनले केही मात्रामा हतियार बाहिर रहेकाले सुरक्षा निकाय सतर्क रहेको बताए। सुरक्षा कारणवश कूल लुटिएका हतियारको संख्या सार्वजनिक गर्न नसकिने पनि स्पष्ट पारे।
सुरक्षा गोष्ठीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले फरार कैदीबन्दी र हतियारका कारण चुनावको वातावरण जोखिममा पर्न सक्ने आशंका व्यक्त गरेका थिए। त्यसको जवाफमा गृहमन्त्री अर्यालले सो आशंका निराधार भएको भन्दै निर्वाचन अवरोध हुन नदिने दृढता दोहोर्याए।
राजनीतिक गतिविधि अवरोधबारे सरकारको धारणा
गोष्ठीमा राजनीतिक दलका गतिविधिमा अवरोध भइरहेको भन्ने मुद्दा उठेपछि मन्त्री अर्यालले सरकार राजनीतिक दललाई शान्तिपूर्ण ढंगले कार्यक्रम सञ्चालन गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “हाम्रो मुख्य दायित्व निर्वाचन गराउनु हो। त्यसका लागि पूर्ण शान्ति–सुरक्षा सुनिश्चित गर्छौं। अहिंसात्मक राजनीतिक गतिविधिमा कुनै हस्तक्षेप हुन दिने छैनौं। दण्डहीनताको अवस्था आउन दिइने छैन।”
























