काठमाडौँ । नेकपा संयुक्तको अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । आज पत्रकार सम्मेलन गरेर आफूले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिएका हुन ।
नेकपा एकीकृत समाजवादीको पुनर्गठन अभियानले नेकपा संयुक्त नाम राखेर संयुक्तकै चुनाव चिन्ह हँसिया राख्ने यसअघि नै सहमति भइसकेको छ । आफूहरू एक ठाउँमा उभिएको भन्दै युवापंक्तिले कम्युनिस्ट आन्दोलन अगाडि बढाउनको लागि आफूले नेतृत्व छाडेको जोशीले बताए ।
सोही पत्रकार सम्मेलनमा भुसालले नयाँ भनिएका राजनीतिक दलहरूकै हातमा देशको बागडोर सुम्पिने हो भने मुलुक पुनः संकटतर्फ धकेलिने चेतावनी दिएका छन्।
उनले यसअघि स्थापित दलहरूका विकल्पका रूपमा अगाडि आएका नयाँ दल पनि सिद्धान्त र वैचारिक धरातलका हिसाबले कमजोर रहेको आरोप लगाए।
भूसालका अनुसार नयाँ भनिने दलहरू दूरदृष्टिको अभाव, सतही सोच र गैरजिम्मेवार चरित्रका कारण मुलुकलाई स्थिर दिशामा लैजान सक्षम देखिँदैनन्। उनले भने, “यी नयाँ पार्टीहरू विचारका हिसाबले भुइँफुट्टा, दूरदृष्टिमा सतही र व्यवहारमा गैरजिम्मेवार छन्। यिनीहरूकै हातमा देश गयो भने मुलुक फेरि ठक्कर खान्छ।”
उनले ती दलहरू पनि अन्ततः दलाल पूँजीवादसँग जोडिने खतरा रहेको दाबी गरे। “हिजोका ठूला सत्ताधारी दलजस्तै यिनको नेतृत्व पनि दलाल पूँजीवादसँग बिक्री हुन सक्छ,” उनले भने, “हाहाहोहो गरेर राजनीति गर्दैमा देशले शान्ति र स्थिरता पाउँदैन भन्ने कुरा स्पष्ट छ।”
भूसालले आफ्नो पार्टीले पुराना मात्र होइन, नयाँ भनिने दलहरूको पनि विकल्प प्रस्तुत गर्ने उद्देश्यका साथ अघि बढिरहेको स्पष्ट पारे।

























