काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनका लागि आज देशभरबाट प्रतिनिधि छनोट गर्दैछ। मंसिर ११ गते सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन प्रक्रिया सकिएपछि सहमति नजुटेका क्षेत्रमा बिहान ८ बजेदेखि मतदान सुरु भएको छ, जुन दिउँसो २ बजेसम्म चल्नेछ । केही जिल्लाले आफ्नो अनुकूलताअनुसार मतदान समय समायोजन गरेका छन्।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सङ्घीय निर्वाचन क्षेत्रहरूबाट खुला, महिला, दलित र युवा मिलाएर करिब दुई हजार प्रतिनिधि चयन हुँदैछन्। साथै प्रवास, जनसंगठन र विभिन्न विभागबाट थप करिब एक सय प्रतिनिधि चयन हुनेछन् । यसैअनुसार आगामी महाधिवेशनमा करिब २२ सय प्रतिनिधिको उपस्थिति रहने छ।
प्रतिनिधि छनोटका सम्बन्धमा केन्द्रीय संगठन विभागले तयार पारेको प्रस्तावलाई सचिवालयले यसअघि नै पारित गरी मातहतका सबै कमिटीमा पठाइसकेको छ। सचिवालयको कात्तिक १५ गतेको बैठकले तय गरेको नियमअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मान्दै प्रति एक हजार दुई सय सदस्य बराबर दुई खुला र एक महिला प्रतिनिधि निर्वाचित गरिनेछ।
यस क्रममा प्रत्येक क्षेत्रमा कम्तीमा एकजना ४० वर्षमुनिको युवा प्रतिनिधि अनिवार्य रहने व्यवस्था गरिएको छ। त्यस्तै, प्रति आठ सय सदस्यबाट एक प्रतिनिधि, जसमा महिलालाई प्राथमिकता दिने, र दलित सदस्यहरूको हकमा प्रति पाँच सय सदस्य बराबर एक प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको गौतमले बताए।
ट्रेड युनियनबाट प्रदेशगत सात–सात प्रतिनिधि रहनेछन् भने जनसंगठनहरूबाट प्रतिजनसंगठन पाँच जना र महासङ्घीय संरचनामा रहेका जनसंगठनबाट सात जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। विभाग र कार्यालयबाट एक–एक जनाको प्रतिनिधित्व हुनेछ। प्रवासी संरचनाबाट महादेशअनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ।
यस बाहेक केन्द्रीय कमिटीका ३५४ सदस्य स्वतः प्रतिनिधि हुनेछन्। अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। एमालेका कुल ६ लाख ६७ हजार ६३० सङ्गठित सदस्यमध्ये प्रदेश, विशेष जिल्ला, दलित, ट्रेड युनियन र विभिन्न जनसंगठन मिलाएर करिब १९ सयभन्दा बढी प्रतिनिधि रहने अनुमान छ। पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नसक्ने भएकाले कुल प्रतिनिधि संख्या २१ सयभन्दा बढी पुग्ने सम्भावना रहेको गौतमले बताए ।
उनका अनुसार प्रतिनिधि छनोट सम्बन्धी सम्पूर्ण विधि र मार्गदर्शन मातहतका सबै कमिटीमा पठाइसकिएको छ र देशभर आजैको दिनमा सोही आधारमा प्रतिनिधि चयन प्रक्रिया अघि बढिरहेको छ ।
























