काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डा निरीक्षण गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सेनाको सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिएकी छन् ।
निरीक्षणका क्रममा सेनाले हालको सुरक्षा अवस्था, चुनौती र आगामी योजनाबारे विस्तृत ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेनाको भूमिका, परिचालन योजना र संरचनाबारे प्रस्तुतीकरण पनि गरिएको थियो।
प्रधानमन्त्री कार्कीले आन्दोलनपछि बनेको सरकारले देशमा शान्ति–सुरक्षा मजबुत बनाउँदै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु मुख्य जिम्मेवारी रहेको उल्लेख गरिन्। उनले सेना र अन्य सुरक्षा निकायले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आफ्नो जिम्मेवारी उच्च दक्षताका साथ पूरा गर्नेमा विश्वास व्यक्त गरिन्।
यस क्रममा उनले सुरक्षा निकायलाई तीन बुँदामा निर्देशन दिइन्—
– जनताको सुरक्षाको प्रत्याभूति : प्रहरी कारबाहीलाई सहजीकरण र सहयोग गर्दै सबै राजनीतिक दलका गतिविधि निर्वाध सञ्चालन हुने वातावरण तयार पार्न स्पष्ट कार्ययोजनासहित अगाडि बढ्ने।
– रक्तपातरहित चुनाव : एक थोपा रगत पनि नबग्ने र एक जना पनि घाइते नहुने व्यवस्था गर्ने। विगतका चुनावका अनुभव र आगामी निर्वाचनका सम्भावित जोखिमलाई विश्लेषण गर्दै सबै सुरक्षा निकायबीच समन्वयका साथ त्रुटिरहित ढङ्गले काम गर्ने।
– हराएका हातहतियार नियन्त्रण : जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हतियारको खोजी, नियन्त्रण र फरार अभियुक्त पक्राउ गर्न प्रहरीसँग घनिष्ठ समन्वय गर्दै कुनै कसर बाँकी नराखी खटिने।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च पदाधिकारीको उपस्थिति थियो।

























