काठमाडौं । श्रीलंकामा भीषण वर्षाले व्यापक बाढी र पहिरो उत्पन्न गरिदिँदा ठूलो जनधनको क्षति भएको छ । यस प्रकोपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने २१ जना अझै बेपत्ता छन् । हालका वर्षहरूमा श्रीलंकाले भोग्नु परेको सबैभन्दा गम्भीर मौसमी विपद् मध्ये यो एक मानिएको छ।
डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी)का अनुसार चिया बगानका लागि प्रसिद्ध बदुल्ला जिल्लामा राति गएको पहिरोमा मात्रै २१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। सामाजिक सञ्जालमा आएका भिडियोहरूमा बाढीको प्रचण्ड बहावले घरहरू समेत बगाएको देखिन्छ। प्रभावितहरूका लागि अस्थायी आश्रयस्थल स्थापना गरिएको छ।
श्रीलंकाले शुक्रबारदेखि थप खराब मौसम भोग्न सक्ने चेतावनी दिइएको छ, किनकि ‘दित्वाह’ नामक चक्रवात पूर्वी तटतर्फ नजिकिँदै छ। सुरुआतमा एक गहिरो दबाबको रूपमा देखिएको यो प्रणाली द्रुतगतिमा विकसित भई चक्रवात बनेको हो, जसले भारतको तटीय क्षेत्रमा ल्यान्डफल गर्ने सम्भावना छ।
डीएमसीको पछिल्लो विवरणअनुसार बाढी र पहिरोले १७ जिल्ला प्रभावित भएका छन्। एक हजार १५८ परिवारका झन्डै चार हजार मानिसहरू असर परेको छ। दस जना घाइते भएका छन्, तीन घर पूर्णरूपमा ध्वस्त भएका छन् भने ३८१ घर आंशिक क्षतिग्रस्त भएका छन्। कम्तीमा १३१ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
निरन्तर वर्षाका कारण मध्य तथा पहाडी क्षेत्रहरूमा थप बाढी, पहिरो र सडक अवरुद्ध हुने खतरा बढेको अधिकारीहरूले चेतावनी दिएका छन्। बिग्रँदो मौसमका कारण विश्वविद्यालयले बिहीबारदेखि शनिबारसम्मका सबै परीक्षा स्थगित गरेको छ। धेरै जिल्लामा यातायात बन्द छ र मुख्य सडकहरू अवरुद्ध भएका छन्।
आपतकालीन परिचालन टोलीले उच्च जोखिम भएका स्थानहरूमा खोजी तथा उद्धारकार्य जारी राखेका छन्। सरकारले नागरिकलाई पहिरो र बढ्दो जलस्तरप्रति सावधान रहन अनुरोध गरेको छ।

























