काठमाडौं । काठमाडौंका सडकका खाल्डाखुल्डी अब तत्काल मर्मत गरिने भएका छन् । यसका लागि ‘सडक मर्मत एम्बुलेन्स’ नामक नयाँ सेवा सञ्चालनमा ल्याइएको हो, जसको प्रयोग नेपालमा पहिलोपटक गरिएको हो ।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय, काठमाडौंले स्थापना गरेको उक्त एम्बुलेन्स सेवाको उद्घाटन गरे । अब सडक डिभिजनको कार्यक्षेत्रभित्र पर्ने काठमाडौंका महत्वपूर्ण सडकमा देखिएका खाल्डाखुल्डी तत्काल मर्मत गर्न एम्बुलेन्स परिचालन गरिनेछ ।
यसैसँगै सडकमा देखिने खाल्डोबारे तुरुन्त जानकारी दिन सकिने मोबाइल एप्स पनि सार्वजनिक गरिएको छ । एपमार्फत खाल्डोको फोटो खिचेर अपलोड गर्न सकिनेछ भने मर्मत सम्पन्न भएपछि अद्यावधिक विवरण पनि राखिने व्यवस्था गरिएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्सलाई नमूनाका रूपमा अन्य मुख्य शहरमा पनि विस्तार गर्ने योजना रहेको बताए । उनले अत्याधुनिकीकरणमार्फत मर्मत सेवा अझ प्रभावकारी बनाउन आवश्यक उपकरण थपिने उल्लेख गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले यस सेवाले सडक मर्मतसम्बन्धी गुनासो तुरुन्त सम्बोधन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एम्बुलेन्स सेवाले मर्मत कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुर्याउने बताए ।
सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाका अनुसार एम्बुलेन्स ३६५ दिन, २४ घण्टा तयारी अवस्थामा रहनेछ । खाल्डो देखिने बित्तिकै तालिमप्राप्त प्राविधिक टोली स्थलमा पुगेर छिटो मर्मत गर्न सक्नेछन् । आवश्यकताअनुसार ट्राफिक व्यवस्थापनका चेतावनी बत्ती पनि प्रयोग गरिनेछ, जसले भीडभाडका बेला समेत आकस्मिक मर्मत सम्भव बनाउने छ ।

























