काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाका सांसदहरूले वर्तमान राजनीतिक वातावरणमा निर्वाचन सम्भव छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएका छन्। बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सरकारले दलहरूको विश्वास नै हासिल गर्न नसकेको भन्दै आलोचना गरे।
सांसद पदम परियारले पछिल्ला दिनमा देखिएका एक–अर्कामाथिका निषेधका घटनाले निर्वाचनको वातावरण बिग्रिएको टिप्पणी गर्दै सरकार त्यसलाई कसरी नियन्त्रण गर्छ भन्ने प्रश्न उठाए। उनले बाराबाट कैलालीसम्मका घटनाहरू उल्लेख गर्दै उनले प्रश्न गरे, ‘जेनजी भर्सेस पार्टी, पार्टी भर्सेस जेनजी र पार्टी भर्सेस पार्टी हुने अवस्थालाई सरकारले कसरी काबुमा राख्दैछ?’
त्यस्तै सांसद श्रीकृष्णप्रसाद अधिकारीले सबै दल चुनावतर्फ जानुपर्नेमा सहमत भए पनि आवश्यक विश्वासको वातावरण निर्माण नहुँदा चुनौती बढेको बताए। “निर्वाचनका लागि राजनीतिक दलहरूको विश्वास जित्नुपर्छ, तर अहिले पनि जनतामा शंका बाक्लिँदो छ,” उनले भने।
बैठकमा सांसद नरबहादुर विष्ट, गरिमा शाह, रुक्मिणि कोइरालासहित अन्य सदस्यहरू पनि उपस्थित रहेर शान्ति–सुरक्षाको समग्र अवस्थाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए।
























