काठमाडौं । झापामा १४ वर्षदेखि अलपत्र परेको कन्काई पुल निर्माणको ठेक्का अन्ततः तोडिएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने करिब ७२३ मिटर लम्बाइको यस पुलको ठेक्का तोडिएको जानकारी हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै दिएको हो।
पुल निर्माणका लागि २०६८ जेठ ३१ गते पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)सँग ‘पक्की पुल डिजाइन एन्ड बिल्ड’ मोडेलमा ठेक्का सम्झौता गरिएको थियो। २०७२ जेठ ३० भित्र काम सक्ने लक्ष्य राखिएको भए पनि पाँच पटक म्याद थप्दा पनि निर्माण प्रगति ५६ प्रतिशतमै सीमित रहेको कार्यालयले जनाएको छ।
करसहित ३४ करोड ९ लाख रुपैयाँ मूल्याङ्कन गरिएको ठेक्का रद्द भएसँगै निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिएको छ। गत ३१ असोजमा कार्यालयले ठेक्का किन नतोड्ने भन्नेबारे १५ दिनभित्र स्पष्टीकरण मागेको थियो। पेश भएको विवरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए।
ठेक्का तोडिएपछि हालसम्मको प्रगति, बाँकी काम तथा वित्तीय समायोजनको लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई आग्रह गरिएको छ।
गत २६ असोजमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गर्दै परियोजनाको ढिलाइबारे छिट्टै निर्णय हुने बताएका थिए। कार्यक्षमता नदेखाइ आयोजना अलपत्र पार्ने ठेकदारहरूलाई कारबाही गर्ने आफ्नो नीति अनुसार उनले रुग्ण ठेक्का तोड्न निकायहरूलाई निर्देशन दिँदै आएका छन्।
कन्काई पुलको ठेक्का म्याद २०८० मै सकिएको थियो। पुलका १९ मध्ये ८ स्पान मात्रै बनेका छन्। बाँकी ११ मध्ये २ स्पान बिमसम्म पुगेका छन्, ६ का जग निर्माण भइसकेका छन् भने ३ स्पानका जग हाल्न अझै बाँकी छन्।

























