जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले किसान र युवालाई लक्षित महत्वाकांक्षी राहत योजना सार्वजनिक गरेका छन् । यादव नेतृत्वको सरकारको वैधानिकता सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने अपेक्षा बीच उनले नयाँ योजनाहरू अगाडि सारेका हुन्।
बुधबार जनकपुरमा पत्रकार सम्मेलनमार्फत घोषणा गरेका योजनाअनुसार खडेरी र अत्यधिक वर्षाका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानलाई प्रति कठ्ठा १५०० रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ। त्यस्तै, १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक तह पास गरे पनि बेरोजगार रहेका युवालाई मासिक २ हजार रुपैयाँ निर्वाह भत्ता दिने प्रस्ताव राखिएको छ।
यस वर्ष मधेशमा धान रोपाइँ ८६.३५ प्रतिशतमा सीमित भएको तथा काट्ने समयमा ‘मोन्था’ चक्रवातका कारण धानमा व्यापक क्षति पुगेको मुख्यमन्त्री यादवले बताए। यही कारण किसानलाई राहत आवश्यक भएको उनको भनाइ छ।
यस्ता निर्णयहरू सर्वोच्च अदालतको आदेश विपरीत भएको भन्दै प्रदेशका सात राजनीतिक दलहरूले आपत्ति जनाएका छन्।

























