काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौँ महाधिवेशन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्चालमार्फत् उनले महाधिवेशनले पार्टीलाई अझ अग्रगमनमा उन्मुख गराउने विश्वास व्यक्त गर्दै सबै नेता–कार्यकर्तालाई शुभेच्छा दिएकी हुन्।
एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले भनेकी छन्, “नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सम्पूर्ण सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। विद्यमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिलाई सामना गर्दै यो महाधिवेशनले पार्टीलाई नयाँ दिशातर्फ अघि बढाउनेछ भन्ने दृढ विश्वास छ।”
एमालेको ११औँ महाधिवेशन मंसिरको अन्तिम सातादेखि काठमाडौं उपत्यकामा सुरु हुँदैछ। उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने तय भएको छ। नयाँ नेतृत्व चयनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
भण्डारीले प्रतिनिधि छनोट प्रक्रियामा परिपक्व नेतृत्व, ऊर्जाशील र अनुशासित युवा पुस्ता तथा विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी पंक्तिले जिम्मेवारीपूर्वक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेकी छन्। विशेष परिस्थितिका कारण समयमा भन्दा एक वर्षअघि हुन लागिरहेको यो महाधिवेशनले वैचारिक तथा राजनीतिक परिपक्वता प्रदर्शन गर्ने अवसर सम्झनुपर्ने उनको भनाइ छ।
यद्यपि उनी स्वयम् महाधिवेशनमा सहभागी हुने छैनन्। राष्ट्रपति भइसकेपछि सक्रिय राजनीतिमा फर्कन नमिल्ने भन्दै एमालेले उनको सदस्यता रोकिदिएको थियो, जसलाई भण्डारीले अनुचित निर्णय भनेकी छन्। “दुई वर्षअघि विधानअनुसार नवीकरण गरेको मेरो सदस्यता नेतृत्वले अन्यायपूर्ण रूपमा रोकेको कारण म भौतिक रूपमा उपस्थित हुन सकिनँ। तर पार्टी परिवारको अभिन्न सदस्यको रूपमा म सधैं साथमै रहनेछु,” उनले भनिन्।
महाधिवेशन पार्टीको नीति निर्माण र नेतृत्व चयनमार्फत् सामाजिक–आर्थिक रूपान्तरणको मार्ग तय गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गर्दै भण्डारीले एमालेको महाधिवेशन सफल होस् भन्ने शुभेच्छा व्यक्त गरेकी छन्।

























