धनगढी । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीहरू बहकिएकै कारण लोकतान्त्रिक प्रक्रियाबाट चुनिएको सरकार ढलेको आरोप लगाएका छन्। धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले जेनजीहरूलाई फेरि नबहकिन आग्रह गरे।
बस्नेतले भने, “जेनजी भाइहरू, धेरै नबहकिनुस्। तपाईंहरू एक पटक बहकिएपछि ७६ जनाको मृत्यु भयो, सिंहदरबारदेखि सर्वोच्च अदालत, संसद् भवन र धेरै सरकारी कार्यालयहरू जले, ५०० भन्दा बढी प्रहरी चौकी ध्वस्त भए र अन्ततः लोकतान्त्रिक विधिबाट बनेको सरकार ढल्यो।”
उनका अनुसार जेनजी आन्दोलनकै कारण सुशीला कार्की नेतृत्वको सरकार बनेको हो। उनले नबुझ्ने जेनजीहरू अरूको उक्साहटमा आन्दोलनमा लागेको दाबी गरे ।
बस्नेतले थप भने, “अब बुझ्ने जेनजीहरू—जसमा मिरज ढुंगाना पनि छन्—प्रधानमन्त्री सुशीला कार्कीलाई घेर्न थालेका छन्, राष्ट्रपतिको राजीनामा माग्दै छन् र कुलमान घिसिङमाथि समेत घुस लिएको आरोप लगाई राजीनामा माग्न थालेका छन्।”

























