काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा नक्कली पीएचडी देखाएर सह–परीक्षा नियन्त्रक पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार मुद्दा दायर गरिएका व्यक्तिमा छनोट समितिमा रहेका तीन प्राध्यापक—संयोजक प्रा. डा. जया लक्ष्मी प्रधान, सदस्य प्रा. डा. मोतिलाल शर्मा र प्रा. डा. मेधराज पोखरेल—र झुटा कागजात पेश गरी नियुक्ति लिने सहप्राध्यापक डिल्लीराम प्रसाईं छन्।
त्रिविको रजिष्ट्रार कार्यालयले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक माग गर्दै विज्ञापन खुला गरेको थियो। उक्त पदका लागि छ जनामध्ये एक जनालाई छनोट गर्न प्रधानको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो।
प्रतिस्पर्धीमध्ये डिल्लीराम प्रसाईंले आफू पीएचडी उपाधिसहितको विद्यावारिधि भएका दाबी गर्दै नामअगाडि ‘डा.’ लेखेका थिए। उनले पीएचडी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको भन्दै विभिन्न प्रमाणपत्रहरू पनि पेश गरेका थिए। विद्यावारिधि प्राप्त उम्मेदवारलाई अन्यको तुलनामा अतिरिक्त ८ अंक छुट्याइने व्यवस्था थियो।
तर अभिलेखअनुसार प्रसाईंले २७ भदौमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा दिए पनि उनका शोधपत्रहरू अन्तिम रूपमा स्वीकृत नभएका थिए। डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिको ५ पुसको बैठकले पनि उपाधि स्वीकृत नभएको पुष्टि गरेको थियो। प्रसाईंले २९ माघमा मात्र विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।
उपाधि नपाउँदै झुटा कागजात बनाएर पदको लाभ लिन खोजेको, नपाएको ओहोदा पाएको दाबी गर्दै गलत विवरण पेश गरेको आरोपमा अख्तियारले प्रसाईंमाथि मुद्दा चलाएको हो। साथै, उनका झुटा कागजात स्वीकार गरी छनोट प्रक्रिया अघि बढाएको आरोपमा समितिका तीन सदस्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

























