काठमाडौं । नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको महाधिवेशन तयारी सचिवालयको बैठकले उद्घाटन स्थलसहित अन्य तयारीहरूलाई अन्तिम रूप दिएको हो।
एमालेको महाधिवेशन मंसिर २७ गतेबाट सुरू हुँदैछ । उद्घाटन सत्र सल्लाघारीमा हुने भए पनि बन्दसत्र भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय गरिएको एमाले नेता डा. भिष्म अधिकारीले जानकारी दिए।
बैठकले यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनमा तय गरिएको नारालाई नै यस महाधिवेशनको मुख्य नारा बनाउने निर्णय पनि गरेको छ। महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहने अधिकारीले बताए।
यसैगरी, महाधिवेशन तयारीका लागि गठन गरिएका १२ वटै समितिले आफ्नो-आफ्नो क्षेत्राधिकारभित्र भएका काम तथा बाँकी रहेका कार्यहरूको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए।
























