विराटनगर । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले नेपालको संविधानले अहिलेको परिस्थितिमा संसद् विघटनको कुनै सम्भावना नै नछोडेको बताएका छन् । विराटनगरस्थित कोशी प्रदेश सभाको क्षतिग्रस्त भवन निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानमा यस अवस्थाको लागि संसद् विघटनको व्यवस्था राखिएको छैन भने संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधानसमेत नरहेको स्पष्ट पारे।
उनले संविधानले संसद् भङ्ग गर्ने अधिकार नदिएकाले न्यायिक प्रक्रियाबाट संसद् पुनःस्थापित हुने भन्नेमा आफूहरू आशावादी रहेको बताए।
सभामुख घिमिरेले आफू कुनै दलको पक्षमा नभई संविधान र कानुनले भनेअनुसार मात्र बोल्ने गरेको उल्लेख गर्दै भने,
‘कसको भाषा बोलियो भन्ने होइन, के बोलियो भन्ने महत्त्वपूर्ण हो। सही कुरा अरू कसैको भनाइसँग मिल्यो भन्दैमा त्यसमा आपत्ति जनाउनु पर्ने हुँदैन।’
क्षतिग्रस्त प्रदेश सभा भवन अवलोकनपछि उनले पुनर्निर्माण तथा मर्मतका कामहरू छिट्टै अघि बढाउनुपर्छ भन्नेमा जोड दिए। साथै प्रदेश सभा हाल सञ्चालन भइरहेको कटहरीस्थित तरकारी बजार क्षेत्रको पनि अवलोकन गर्दै प्रदेशसभाको स्थायी संरचना निर्माण अब अपरिहार्य भइसकेको टिप्पणी गरे।
निरीक्षणमा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट तथा प्रदेश सभा सचिवालयका कर्मचारीहरू पनि सहभागी रहेका थिए।
























