काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन-जी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । सोमबार अपरान्ह पनि २१ वटा जेन-जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
आज बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर धोलीखोला पुल कटाएको छ । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । जेजनी युवाहरुले सरकारले प्रहरी लगाएर युवाहरूको आवाज दमन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।
युवाको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको भन्दै ढुंगानाले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसकेको र घाइते तथा शहीदको सपना साकार पार्न असम्भव देखेको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजी समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमै होहल्ला गरेका थिए।
सुदन गुरुङ नेतृत्वको जेनजी समूह ध्यानाकर्षणपत्र बुझाउन सोमबार प्रधानमन्त्री कार्यालय पुगे पनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो रहेको छ।
आज ढुंगाना समूहलाई त सिंहदरवारमा प्रवेश नै निषेध गरेपछि युवाहरु आक्रोशित भएका हुन । धोवी खोलाइ कटाइदा १० जना जति जेनजी युवा थिए भने ५० जना भन्दा बढी पत्रकार र १०० जना भन्दा बढी प्रहरी थिए ।
























