काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रिय राजनीतिक भूमिका अन्य दलहरूलाई पनि उर्जाशील बनाइरहेको दाबी गरेका छन्।
जनपरिचालन समितिको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक गतिविधि बढ्दै जाँदा अराजकता स्वतः कम हुँदै जाने टिप्पणी गरे। उनका अनुसार, अहिले देश निर्माणमा जुट्ने शक्ति र देशलाई अस्थिर बनाउने प्रवृत्तिबीच स्पष्ट ध्रुवीकरण देखिएको छ।
ज्ञवालीले भने, “एमालेका गतिविधिका कारण अरु दलमा पनि ऊर्जा थपिएको छ। एमालेलाई जस दिनु–नदिनु अलग विषय हो, तर राजनीतिक सक्रियता बढेपछि देशमा अराजकता घट्छ। एमाले पुनः आफ्नो लयमा फर्किएको छ।”
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र र जनसभालाई ऐतिहासिक बनाउन तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए। उनका अनुसार, आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्न विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको छ।
महाधिवेशनको उद्घाटन सत्र भव्य बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियान अझ सशक्त रूपमा सञ्चालन गरिने एमालेले जनाएको छ।
























