काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । सरकारमा फैलिएको भ्रष्टाचार, सत्ता दुरुपयोग र संविधानविपरीतका गतिविधि बढ्दै गएको भन्दै उनीहरूले प्रधानमन्त्री कार्की पदमा बसिरहन नपाउने तर्क गरेका छन् ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा ऊर्जा मन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताले ४३ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई अवैध कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा संलग्न रहेको र गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नै नातेदारलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन नयाँ दरबन्दी सिर्जना गरेको आरोप लगाइएको छ ।
त्यस्तै, प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको भन्दै पनि उनीहरूले आपत्ति जनाएका छन् ।
प्रवक्ता विजय शाहीद्वारा जारी विज्ञप्तिमा यी सबै कार्य ‘प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता वा संरक्षणबिना सम्भव नहुने’ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीको तत्काल राजीनामा मागिएको छ।
साथै, सुशीला कार्की नेतृत्वको सरकारप्रति जनविश्वास र राजनीतिक नैतिकता दुवै समाप्त भइसकेको दाबी गर्दै जेनजी मुभमेन्टले सार्वजनिक अवज्ञा गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।


























