काठमाडौँ । नेपाल जेन–जी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गर्दै पाँच बुँदे मागपत्र सरकारमा पेस गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयमा श्रेष्ठले आफ्नी पत्नीसहित नातेदारहरूलाई नियुक्ति गराएको खुलासा भएपछि फ्रन्टले कडा आपत्ति जनाएको हो।
सोमबार जारी विज्ञप्तिमा फ्रन्टले राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्ता संवेदनशील संयन्त्रमा नातावाद र कृपावादका आधारमा गरिएको नियुक्ति सुशासन, नैतिकता, जवाफदेहिता र पारदर्शितामाथिको ठाडो प्रहार भएको टिप्पणी गरेको छ। फ्रन्टका अनुसार जेन–जी विद्रोह नै यस्ता दीर्घकालीन राजनीतिक–प्रशासनिक विकृतिविरुद्ध उठेको आन्दोलन भएकोले हालको प्रकरणले पुनः राज्य संयन्त्रभित्रको विकृति उजागर गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “जेन–जी विद्रोहको मर्म र म्यान्डेटका प्रतिकूल हुनेगरी भएका गतिविधि भविष्यमा नदोहोरियोस् भन्ने उद्देश्यले नेपाल सरकार र प्रधानमन्त्री कार्कीसमक्ष फ्रन्टले तत्काल निम्न मागहरू पूरा गर्न जोडदार अपिल गर्दछ।”
फ्रन्टले राखेका पाँच मागः
१. प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको तत्काल बर्खास्ती।
२. निज श्रेष्ठले अनैतिक नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी।
३. सुशासन र जवाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो? प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी।
४. प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयभित्र हुने नियुक्ति, दरबन्दी र भूमिकालाई अब उपरान्त पूर्ण पारदर्शी र मापदण्डमा आधारित बनाउने स्पष्ट नीति निर्माण र कार्यान्वयन।
५. प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा को को कुन कुन पदमा कार्यरत छन् ? सोको सम्पूर्ण विवरण सार्वजनिक रूपमा सूचना पाटी र वेबसाइटमा समेत राख्नुपर्ने कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयन।
फ्रन्टले अन्त्यमा उल्लेख गरेको छ कि जेन–जी विद्रोहको म्यान्डेट न्यायोचित प्रक्रिया, पारदर्शिता र जवाफदेहिताको पक्षमा रहेकोले राज्य संयन्त्रमा देखिएका नातावाद, कृपावाद र मनपरीका विरुद्ध आफूहरू निरन्तर सतर्क र संगठित रहने छन्।


























