काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नो पत्नी तथा नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति गराएको खुलेको छ ।
असोज २ गते स्वकीय सहसचिवमा नियुक्त गरिएकी संगीता श्रेष्ठ आदर्शकुमार श्रेष्ठकी पत्नी भएको पुष्टि भएको छ । श्रेष्ठले पत्नीलाई सचिवालयमा भित्र्याएको स्वीकार गर्दै प्रधानमन्त्रीको विश्वास र गोपनीयता सुनिश्चित गर्न यस्तो कदम उठाएको दाबी गरेका छन् ।
उक्त दिन नै नियुक्त स्वकीय सहसचिव कमला श्रेष्ठ तथा प्रशासन सहायक पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि आदर्शकुमारका नातेदार रहेको सार्वजनिक भएपछि उनी आलोचनाको केन्द्रमा परेका छन्। तर उनले आफ्नो नाम अनावश्यक रूपमा जोडिएको दाबी गरेका छन्। यसअघि कार्की प्रधानन्यायाधीश हुँदा श्रेष्ठ सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करार कर्मचारीका रूपमा कार्यरत थिए ।
यता, जेनजी युवा नेतृ रक्षा बमले आदर्शकुमार श्रेष्ठलाई पदमुक्त गर्न र उनले गराएका पारिवारिक नियुक्ति खारेज गर्न माग गरेकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संवेदनशील समयमा बनेको सरकारले नातावाद र कृपावादलाई बढावा दिन नमिल्ने बताएकी छन् ।
‘परिवर्तनका लागि बगेको रगतको अपमान हुने काम अहिले भइरहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जेनजी विद्रोह पैसाको मात्र होइन, नैतिक भ्रष्टाचार, नातावाद र कृपावादका विरुद्ध पनि थियो ।’
उनले थप भनेकी छन्, ‘भदौ २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा आवाज उठाएका थियौँ । तर नागरिक सरकारकै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नैतिक भ्रष्टाचार गर्दै पत्नी तथा नातेदारलाई पदमा पुर्याएको कृत्य गलत छ।’
बमले प्रधानमन्त्रीलाई चेतावनी दिँदै तत्काल आदर्शकुमार श्रेष्ठलाई पदमुक्त गर्न र उनले दिलाएका परिवारजनका नियुक्तिहरू खारेज गर्न आग्रह गरेकी छन्। ‘नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा पर्नु हुँदैन,’ उनले लेखेकी छन्, ‘सरकार बेलैमा सचेत होस् ।’
























