काठमाडौँ । सर्वोच्च अदालतले राजदूत फिर्ता नगर्नु भन्ने आदेश उल्लङ्घन गरेको आरोपमा दायर अवहेलना मुद्दामा प्रधानमन्त्री सुशीला कार्कीसहित विपक्षी पक्षलाई लिखित जवाफ बुझाउन निर्देशन दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले आइतबार यस्तो आदेश जारी गरेको हो।
यसअघि सरकारले असोज ३० गते चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई २० दिनभित्र फिर्ता हुन निर्देशन दिएको थियो। सो निर्णयविरुद्ध दायर रिटमा कात्तिक १६ गते सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता प्रक्रिया रोक्न सरकारलाई भनेको थियो।
तर, आदेशको भोलिपल्टै कात्तिक १७ गते सरकारले राजदूतहरूलाई पहिलेको निर्णयअनुसार फिर्ता हुन पत्र पठाएको थियो। यसलाई अदालतको आदेशको अवहेलना भन्दै अधिवक्ता प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीसहितले अवहेलनाका दुई रिट दायर गरेका थिए, जसमा आइतबारको आदेश आएको हो।
फिर्ता बोलाइएका राजदूतमध्ये हाल चार जनाले राजीनामा गरिसकेका छन्। बाँकीमध्ये कसैले परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका छन् भने कतिपय बिदामा रहेको बताइएको छ।

























