विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेत सुनसरीको इटहरी पुगेपछि नयाँ पुस्ताका युवा (जेनजी)हरुले सुनसरीको दुहबीमा समेत प्रदर्शन गरेका छन्। बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार गाडी दुहबी क्रस भएपछि स्थानीय युवाहरूले सडकमा टायर बालेर विरोध जनाएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार आगो लागेका टायरहरू प्रहरीले तत्काल क्लियर गरेको छ। ‘नेताहरू क्रस भइसकेपछि टायर बालिएको हो, अहिले स्थिति सामान्य छ,’ उनले बताए।
यसअघि विराटनगर विमानस्थल छेउमै बस्नेत सवार गाडीमाथि दुई युवाले रातो मसी प्रहार गरेका थिए। मसी प्रहार गर्ने विराटनगर–१ का सन्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रहरी स्रोतका अनुसार गाडीमा मसी फ्याँक्ने गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् भने कुँवर पनि नेविसंघ निकट कार्यकर्ता हुन्।
शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार भएको बताउँदै नेता बस्नेतले आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने चेतावनी दिएका छन् । रातो मसी छ्याप्ने, बाटो अवरोध गर्न तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको बताउँदै बस्नेतले सामाजिक सञ्जाल फेसवुकमार्फत भनेका छन् –
“विराटनगर विमानस्थलमा हामीमाथि अप्रित कुवँर र सञ्जोग गौतम बाट गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।
प्रहरीको तत्परताप्रति धन्यवाद।
हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ।
अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन।
बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।
























