काठमाडौँ । मोरङको विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी फ्याँकेका छन्। प्रहरी भ्यान पछाडि गुडिरहेको बस्नेतको कारतर्फ सडक किनाराबाट दगुर्दै आएका दुई युवाले बेलुनमा भरिएको रातो मसी फ्याकेको प्रहरीले जनाएको छ।
बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै गर्दा एयरपोर्ट लाइन सडकखण्डमा घटना भएको हो। मसी फ्याँकिएपछि बस्नेत सवार गाडी केहीबेर रोकिएको थियो।
प्रहरीले विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएको छ। दुवैजना मोरङ जिल्ला प्रहरी कार्यालयमा राखिएका छन्। पक्राउ परेका युवाहरूलाई प्रहरी भ्यानमार्फत कार्यालयतर्फ लगिँदै गर्दा उनीहरूले बस्नेतविरुद्ध नाराबाजी गरिरहेका दृश्य भिडियोमा देखिन्छ।
संजोग गौतमले महेश बस्नेत र एमालेविरुद्ध सांकेतिक विरोधस्वरूप रातो मसी फ्याँकेको बताएका छन्। बस्नेतले पनि घटना स्वीकार गर्दै भने, ‘एयरपोर्टबाट निस्किँदै गर्दा दुई जना केटाले पानी र अबिर भरिएको बेलुन लुकाएर हाने। पछि प्रहरीले समायो, हामी अघि बढ्यौं।’
बस्नेतले कार्यक्रममा जान अवरोध पुर्याउने उद्देश्यले घटना गराइएको दाबी गर्दै यसलाई ‘लोकतन्त्रको उपहास’ भनेका छन्।
‘सरकार अलोकतान्त्रिक भएकाले यिनीले पक्षपोषण गरेका मान्छे पनि अलोकतात्रिक र अराजनीतिक गतिविधिमा लागेको बताउँदै नेता बस्नेतले लोकतन्त्रको उपहास भएको बताएका छन् ।
बस्नेतले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न सबैले पाउने भन्दै फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने उनले बताएका छन् ।

























