काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियारबीच एकता भएपछि बनेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज (आइतबार) औपचारिक रूपमा घोषणा हुँदैछ।
परियारका अनुसार पार्टीले निर्वाचन आयोगले तोकेको समयसीमा भित्र दर्ता प्रक्रिया पूरा गरिसकेको छ। घोषणा कार्यक्रम काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे सुरु हुनेछ।
यसअघि कात्तिक २८ गते नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एकता सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो।
‘आजको पार्टी घोषणा कार्यक्रम मेरो अध्यक्षतामा हुनेछ,’ परियारले भने, ‘नेतृत्वका बाँकी विषयहरू क्रमशः मिलाउँदै जानेछौं।’ उनका अनुसार पार्टीले सामूहिक समावेशी नेतृत्वको सिद्धान्त अपनाउने छ। ‘हामी क्लस्टरवाइज अध्यक्ष परिषद् बनाउँछौँ। आज म, सुदन किराँती, दुर्गा सोबललगायत केही अध्यक्ष परिषद् सदस्यहरू सार्वजनिक हुन्छौँ। बाँकी सदस्यहरू पछि टुंगिन्छन्,’ उनले थपे।
यसअघि कात्तिक १९ गते माओवादी केन्द्रसहित १० वाम घटक मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएपछि जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान गठन गरेका थिए। त्यस्तै, रास्वपाले अपेक्षित रूपमा समाजको संरचना र चरित्रलाई प्रतिनिधित्व गर्न नसकेको भन्दै सन्तोष परियारले कात्तिक २८ गते पार्टी छाडेका थिए।
























