काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले हालसालै व्यक्त गरेको भनाइलाई ‘कच्चा अभिव्यक्ति’ भन्दै कडा आपत्ति जनाएका छन् ।
काठमाडौंमा नेसनल भोलेन्टियर फोर्सको कमान्ड घोषणा समारोहपछि सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका अभिव्यक्तिले जनता नै धम्क्याउन खोजिएको आभास भएको बताए ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँगको छलफलमा प्रतिनिधिसभा पुनर्स्थापना भए देश फेरि अस्थिरतामा फस्न सक्ने र विद्रोहको सम्भावना बढ्ने टिप्पणी गरेकी थिइन् । यसै प्रसङ्गलाई उद्धृत गर्दै ओलीले ती शब्दहरूको आशय के हो भनेर प्रतिप्रश्न गरे ।
‘सरकार संविधानसम्मत छैन भने झनै विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? नेपाली जनतालाई धम्काउने ? अस्तिको भन्दा ठूलो विद्रोह हुने रे ?’ भन्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिको उद्देश्य स्पष्ट पार्न आग्रह गरे।
ओलीले थपे, ‘प्रधानमन्त्रीज्यू, यो तपाइँको योजना हो कि अनुमान ? योजना हो भने सपना नदेख्नुस्। अनुमान हो भने डराउन छाड्नुस्, नेपाली जनतालाई पनि डर देखाउन छाड्नुस् ।’
























