काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रले सार्वजनिक सम्पत्ति र नागरिकको ज्यान–धनको पूर्ण सुरक्षा गर्न नसकेको निष्कर्षपछि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) गठन गरिएको बताएका छन्।
शुक्रबार फोर्सको औपचारिक घोषणा गर्दै ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहित युवाहरू तयार रहेको उल्लेख गरे। उनले ‘आतंकवादी गतिविधि’ निस्तेज पार्न स्वयंसेवकहरू सक्षम र सतर्क रहनुपर्ने निर्देशन पनि दिए।
‘भोलेन्टियर फोर्स गठनलाई कसै–कसैले मन नपराउन सक्छ,’ उनले भने, ‘तर यो कसैको अहितका लागि होइन, राष्ट्रिय हित र सबै नागरिकको ज्यान–धनको सुरक्षाका लागि गठन गरिएको हो। शान्ति–सुव्यवस्था कायम गर्न, त्रासदीपूर्ण अवस्था सहज बनाउन र लोकतान्त्रिक मान्यताअनुरूप सबैले कर्तव्य निर्वाह गर्दै बाँच्न पाउनुपर्ने अवधारणा अनुसार यसको स्थापना गरिएको हो।’
ओलीका अनुसार राज्यका संरचनामाथि भएका आक्रमण दोहोरिन नदिन फोर्सले अब प्रतिवाद गर्नेछ।
‘अब हिजोझैँ राज्यका संरचना जलाउने उपद्रो सह्य हुनेछैन,’ उनले थपे, ‘जनताले आफैँ स्वयंसेवक भएर सुरक्षा सुनिश्चित गर्नुपर्ने अवस्था आएको छ। यो हिंसा, लुटपाट र आतंकविरुद्धको संरचना हो। कसैले पनि नागरिकलाई आतंकित बनाउने छुट छैन।’
अध्यक्ष ओलीले फोर्स कसैप्रति लक्षित नभएको, बरु हिंसा र आतंकको विरुद्धमा उभिन बनाइएको स्पष्ट पारे।
उनकाे भनाइमा, ‘यो कसैको विपक्षमा होइन। एमालेको आलोचक वा असन्तुष्टका लागि पनि यो फोर्स ज्यान–धनको सुरक्षाकै लागि हो। आत्तिनु वा डराउनुपर्ने कुनै कारण छैन।’
ओलीले राज्य संयन्त्र एक्लैले शान्ति–सुरक्षा कायम गर्न सक्ने अवस्था नरहेकाले फोर्स आवश्यक भएको जिकिर गरे।
‘औद्योगिक प्रतिष्ठानदेखि सार्वजनिक संरचनासम्मको रक्षा चुनौती बनेको छ,’ उनले भने, ‘त्यसैले देशमा शान्ति–सुव्यवस्था कायम गर्न यो फोर्स स्थापना गरिएको हो।’

























